फुङलिङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो ।
फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान बोलेरो दुर्घटनामा परेको बताइएको छ ।
बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएकी अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परेको बोलेरोमा विक र चालक मात्र रहेको बताइएको छ । चालकलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदैछ । उनको अवस्था सामान्य रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट घटनास्थलमा प्रहरीको टोली पठाइएको छ ।