इटहरी । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शंकर मण्डल, तिरहुत गाउँपालिकाका ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोइठीका ६८ वर्षीय जीवछ महत्मान, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रो एकापसमा ठोक्किएको थियो।
शंकर, लक्ष्मण र अशोकको ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पताल भोक्राहामा, अनारवतीको जिल्ला अस्पताल इनरुवामा र जिवछको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २८ जना घाइते भएका थिए। घाइतेमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जनाको अवस्था सामान्य रहेकाले घर गइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। २० जना घाइतेको ग्लोबल कार्डियो एन्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारी र बस प्रहरीको नियन्त्रणमा रहेका छन्। वर्षा भइरहेको अवस्थामा सवारी तीव्र गतिमा रहेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।