काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) भर्नका लागि पासपोर्ट बनाउनेहरूको भीड बढेको छ।
नारायणहिटी दरबार संग्रहालयस्थित राहदानी विभागमा हिजोआज पासपोर्ट लिन एकाबिहानैदेखि सयौंको लाइन लाग्न थालेको छ।
विभागका अनुसार अमेरिकी सरकारले डिभीका लागि पासपोर्ट अनिवार्य गरेको छ। असोज २० गतेदेखि खुला गरिएको इडिभी(२०२३को फारम भर्ने अन्तिम मिति कात्तिक २३ गतेसम्म छ।
क्षमताभन्दा बढी सेवाग्राही आउन थालेपछि राहदानी विभाग अस्तव्यस्त बनेको त्यहाँका अधिकारीहरू बताउँछन्। विभागको एकापट्टी नारायणहिटीको उत्तरढोका र अर्कोपट्टी लैनचौरसम्म मानिसहरूको भीड देखिने गरेको छ।
विभागमा हिजोआज दैनिक तीन हजारसम्मको हाराहारीमा निवेदन परिरहेको महानिर्देशक डोरनाथ अर्यालले बताए।
२०७६ सालदेखि डिभी भर्दा अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको थियो।
डिभी फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरण भर्नुपर्छ, पासपोर्ट पनि म्यादसहितको हुनुपर्छ।
अद्यावधिक पासपोर्टले डिभीको प्रक्रियामा सुरक्षा थप गर्नुका साथै आवेदन संरक्षित हुने उसले भनेको छ।
डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्छ।
यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तर्वार्ता आउनुअगाडि बुझाउनुपर्छ।
अर्यालका अनुसार दैनिक पाँच सय जना आउने गरेकोमा अहिले ५ हजारसम्म आइरहेका छन्। आइतबार पाँच हजार निवेदन परेको अर्यालले बताए।
राहदानी विभागले अवस्था हेरेर तीन दिनसम्ममा राहदानी जारी गर्ने गरेको छ। आकस्मिक कामका लागि भने निवेदन परेकै दिन दिइने गरिएको अर्यालले बताए।
विभागले मंसिर पहिलो साताबाट इ(राहदानी जारी गर्ने तयारी गरिरहेको छ। त्यसमा डिटिल फारम आह्वान गरिन्छ।
हाल राहदानी फारम आउँदा अक्षर तलमाथि हुने, नाम बिग्रिएर आउनेलगायत समस्या छन्। डिजिटल फारम आउँदा यस्ता समस्या किनारा लाग्ने, समय पनि कम खर्च हुने भएकाले प्रभावकारी हुने अनुमान विभागको छ।