इटहरी । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको बीबीएसमा नेपाल टप गरेकी कस्तुरी कलेजकी छात्रा निशा शेर्पालाई कलेजले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मीले उनलाई सम्मान गरेका हुन् ।
सम्मान पछि बोल्दै डा. रेग्मीले शेर्पालाई बधाई दिँदै आगामी शैक्षिक यात्राको लागि शुभकामनासमेत दिएका थिए ।
कार्यक्रमका सभापती तथा कस्तुरी कलेजका अध्यक्ष प्रा. डा. केदारप्रसाद पौडेलले कस्तुरी कलेजले उत्कृष्ठ नतिजाका साथै सक्षम, जिम्मेवार र परिवर्तनशील नागरिक निर्माण गर्ने लक्ष्य लिएको बताए । उनले विद्यार्थीको वृत्ति विकासमा सहयोग गरिरहेको जानकारी दिए । कस्तुरी एकेडेमीका प्रिन्सिपल भूपेन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । उनले यसअघि पनि कस्तुरीकै विद्यार्थीहरु सन्चिता कोइराला, सार्थिका तोदीलेसमेत उत्कृष्ठ स्थान हाँसिल गरिसकेको जानकारी दिँदै निशा त्यसैको निरन्तरता भएको बताए ।
सम्मानपछि बोल्दै निशा शेर्पाले आफ्नो सफलताको सम्पूर्ण श्रेय कस्तुरी कलेज र यहाँका गुरुजनलाई दिइन् । उनले कस्तुरी कलेजले आफूलाई पुस्तकको ज्ञान मात्रै नदिएको बरु जीवन बाँच्ने दृष्टिकोण पनि सिकाएको जानकारी दिइन् । उनले भनिन्, म यो कलेजकी छात्रा हुन पाएकोमा गर्व गर्छु।
कार्यक्रममा कलेजका प्राचार्य प्रेमप्रसाद न्यौपाने, कस्तुरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कमलेश शर्मा पौडेल, कलेजका सिनियर कोर्डिनेटर द्रोण न्यौपानेलगायतले समेत उनलाई बधाई दिएका थिए ।
कस्तुरी शैक्षिक समुहअन्तर्गत कस्तुरी एकेडेमी, कस्तुरी कलेज र कस्तुरी कलेज अफ म्यानेजमेन्ट सञ्चालनमा छन् । शिक्षालयले निरन्तर उत्कृष्ठ नतिजा हाँसिल गर्दै आएको छ ।