कोशी गाउँपालिका अध्यक्ष अन्सारीले प्रहरीलाई मुख छाडेरै गरे गाली

न्युजलय २७ जेठ २०८२, सोमबार ०५:३९ मा प्रकाशित

सुनसरी । ट्याक्टर चेकजाँच गरेको विषयमा सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले ट्राफिक प्रहरीलाई अश्लिल शब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका छन् ।

कोशी गाउँपालिका– २ कोशी कटान क्षेत्रमा पूर्वपश्चिम राजमार्ग सुरक्षाका लागि खटिएको टोलीलाई अन्सारीले अश्लिल शब्द प्रयोग गर्दै कुटेर मारिदिने धम्कीसमेत दिएका हुन् । 

घटनापछि कोशी कटान क्षेत्रमा खटिएको ट्राफिक प्रहरीको युनिट नै तानिएको छ ।

ट्राफिक प्रहरी स्रोतका अनुसार, शुक्रबार कोशी कटान क्षेत्रमा बास ओभरलोड गरिएको ट्याक्टर चेकजाँच गर्दा कागजात भेटिएन ।

ट्राफिक प्रहरीले रोकेर जरिवाना काट्ने बताएपछि ‘ट्याक्टर आफ्नो हो’ भन्दै दलबलसहित गाउँपालिका अध्यक्ष अन्सारी पुगेका थिए । त्यसपछि विवाद सुरु भयो । ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै गाली गरेका उनले घुस खाएको आरोप लगाए ।

अध्यक्ष र ट्राफिक प्रहरीबीच विवाद भएको केही घण्टापछि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले कोशी कटान क्षेत्रमा खटिएको प्रहरी नायब निरीक्षक कमलप्रसाद दाहाल नेतृत्वको ९ जनाको युनिटलाई नै फिर्ता बोलायो । दाहालको स्थानमा राजाराम यादवको नेतृत्वमा नयाँ टोली खटाएको छ ।

ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै अध्यक्ष अन्सारीले गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा उनले पदको मर्यादा नराखी अश्लिल शब्द प्रयोग गरेको देखिन्छ ।

उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित पालिका अध्यक्ष हुन् ।