इटहरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेललाई बुधबार ज्ञापन पत्र बुझाएको छ ।
मेयर पौडेलले गत शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकारहरूले दानापानी नपाएर समाचार लेख्ने गरेको आरोप लगाएका थिए ।
उनले लेखेका थिए, ‘भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।’
मेयर पौडेलले समग्र पत्रकारिता क्षेत्रमै अपमानित हुनेगरी लाञ्छना लगाएको उदृत गर्दै महासंघले आरोप प्रमाणित गर्नसमेत चुनौती दिएको छ । यदि, आरोप प्रमाणित भए महासंघले कानुन बमोजिम कारबाही गर्ने बताउँदै बुधबार मेयर पौडेललाई ज्ञापन पत्र बुझाइएको हो ।
महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेद्धारा हस्ताक्षरित पत्रअनुसार मेयर पौडेलको उक्त अभिव्यक्तिले समग्र प्रेस स्वतन्त्रता र पत्रकारको गरिमाविपरीतको कार्य भएको ठहर गरेको छ।
ज्ञापन पत्र बुझ्दै मेयर पौडेलले आफूले सबै पत्रकारितालाई आरोप नलगाएको तर केही पत्रकारका कारण आफू पीडित भएको बताए ।
उनले आफूलाई समाचारको नाममा बार्गेनिङ गर्ने पत्रकारलाई महासंघले कारबाही गर्नुपर्ने जिकिर गरे । यद्यपि, आफ्नो अभिव्यक्तिले सबै पत्रकारलाई आघात परेकोमा उनले आफूसमेत दुःखी भएको बताए ।