भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।
भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ ।
मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले सङ्कलन गरेको सहयोग परिवारलाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईले सङ्कलित एक लाख १४ हजार आठ सय ७१ रुपैँया रकम मृतक आफन्तलाई हस्तान्तरण गरे ।
शनिबार राति आफ्नै ज्वाइँले एकै परिवारका चार जनाको सामूहिक हत्या गरेका थिए ।