धरानमा एक युवकमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

न्युजलय ८ माघ २०८१, मङ्गलबार ११:४५ मा प्रकाशित

धरान । धरानमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

धरान –१५ सदन रोड बस्ने २१ वर्षीय रिजन राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक युवतीसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, सोही ठाउँकी २१ वर्षीया विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, सोही ठाउँका १७ वर्षीय प्रस्थान राई, र धरान ५ का २१ वर्षीय सुदीप तामाङ रहेका छन् ।

गत शनिबार बिहान राईलाई खुकुरी प्रहार गरी घाइते भएर बाटोमा लडिरहेको अवस्थामा देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनसाथ अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले राईलाई घाइतेलाई तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।

घटनामा संलग्नको खोजी गर्ने क्रममा प्र १–०२–०५२ प ८९८५ नम्बरको स्कुटरसहित उनीहरूलाई धरानका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका पाँचै जनामाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।