ग्रामथान गाउँपालिकाका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी

न्युजलय २० फाल्गुण २०८१, मङ्गलबार ०३:३१ मा प्रकाशित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी खोसेका छन् ।

कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको बताइएको छ ।

गएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उमेदवार बनेर माझी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी आएसँगै नेपाली कांग्रेस र नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् ।

माघ २९ गतेको कार्यपालिका बैठकका निर्णय पनि कार्यान्वयन गर्न उच्च अदालत विराटनगरले रोक लगाएको छ । कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीले अदालतमा रिट दायर गरेकी थिइन् ।

ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडाको मोटरसाइकलको चाबी समेत खोसिएको छ  । ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेबाट निर्वाचत जनप्रतिनिधिको बहुमत छ । उनीहरूले बक्राहासहितका खोलाबाट अवैध उत्खनन गराइएको र त्यसमा अध्यक्षको मिलेमतो रहेको भन्दै विरोध गर्दै आएका छन् ।