इटहरीमा डुबेर दुई बालकको मृत्यु

न्युजलय ६ साउन २०८२, सोमबार १२:३६ मा प्रकाशित

इटहरी । इटहरीमा डुबेर दुई जना बालकको निधन भएको छ ।

आइतबार इटहरी–२ स्थित माया घर छेउ, सुकल्प भवन नजिकै रहेको खोलाको दहमा डुबेर दुई जना बालकको निधन भएको हो ।

उक्त भवन छेउ नयाँ पुल बनेको छ । सोही पुलमुनि रहेको टेङ्ग्रा खोलामा बालक डुबिरहेको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

तत्कालै खटिएको प्रहरीसहित स्थानीयले घटनास्थलबाट दुवै बालकलाई उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पतालमा पठाइएको थियो ।

तर, उपचारका क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यु हुनेमा ११ वर्षीय क्रिवास लिम्बू र इटहरी–३ का ८ वर्षीय दिप्सन चौधरी रहेका छन् ।

संखुवासभाको चैनपुर–१ घर भएका लिम्बू इटहरी–२ स्थित सानिमाको घरमा बसेर अध्यापन गर्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।