काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली शहर विश्वमै वायु प्रदूषणका हिसाबले अग्र स्थानमा देखिएको छ ।
बिहीबार रातिदेखि नै दिल्लीमा तुँवालो लागेको र धुवाँधुलोका कारण प्रदूषण उच्च भएको बताइएको छ । त्यहाँ एयर क्वालिटी इन्डेक्स एक्यूआई शुक्रबार बिहान ४७३ सम्म पुगेको थियो । अहिले घाम लागेसँगै अलि घटेर यो स्तार ४२८ मा झरेको छ ।
दिपावलीमा भारतभर नै पटाका पड्काउने, आतिसबाजी गर्ने लगायत कार्यले वायु प्रदूषण उच्च भएको बताइएको छ । दिल्लीका अतिरिक्त भारतका धेरै ठाउँमा अहिले प्रदूषण बढेको छ ।
यो समाचार तयार गर्दा विश्वको दोस्रो वायु प्रदूषित शहर पाकिस्तानको लाहोर रहेको छ । त्यसको एक्यूआई ३१६ रहेको छ । त्यसपछि बेइजिङ तेस्रो नम्बरमा रहेको छ । नेपालको राजधानी काठमाडौँ भने अहिले वायु प्रदूषणका हिसाबले १२७ एक्यूआईसहित १५ औँ स्थानमा रहेको छ ।