कोशी प्रदेश सरकारद्वारा इलामका पहिरोपीडितलाई राहत वितरण

न्युजलय २१ असोज २०८२, मङ्गलबार ०२:१७ मा प्रकाशित

इलाम । कोशी प्रदेश सरकारले इलामका पहिरोपीडितलाई राहत वितरण गरेको छ। इलाम नगरपालिका र माङसेबुङमा प्रदेश सरकारले सेनाको हेलिकप्टरमार्फत राहत पठाएको हो।

मंगलबार बिहान इलाम–१० का २६ र माङसेबुङका १३ परिवारलाई राहत सामग्री वितरण गरिएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ  ।

हेलिकप्टरबाट इलाम ल्याइएको राहत सामाग्री दुई पालिकामा वितरण भइसकेको छ र इलामका अन्य स्थान र झापाका लागि केहीबेरमै राहत सामग्री पठाउने तयारी भइरहेको बताइएको छ।

इलाम र पाँचथर सहित विभिन्न स्थानमा विपद् भइरहँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की काठमाडौँमा थिए। उनी फर्किए लगत्तै सरकारले राहत वितरण सुरु गरेको हो।