हतुवागढीका उत्कृष्ट कृषक तथा पशुपालकलाई नगदसहित सम्मान

न्युजलय १७ बैशाख २०८२, बुधबार ११:३५ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकामा उत्कृष्ट कृषक तथा पशुपालकलाई नगद सहित सम्मान गरिएको छ । 

आइतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका स्तरीय कृषि र पशुपालन विद्याका उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । 

यसअघि उत्कृष्ट कृषक छनोटका लागि आवेदन खुलाइएको र सोही अनुरुप प्रमानणिकरण र मूल्याङ्कनबाट कृषि तर्फ एक र पशुपालन तर्फ एक जनालाई प्रमाणपत्र र जनही २० हजार नगद पुरस्कार सहित सम्मान गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । 

हतुवागढ– ५ स्थित नुयुङ कृषि फर्म सञ्चालक सकत बहादुर राई कृषि तर्फ पुरस्कृत भएका छन् भने, पशुपालन तर्फ हतुवागढी १ की विविना राई पुरस्कृत भएकी हुन् । उनले लाफा कृषि तथा पशुपंछी फर्म मार्फत बंगुर र कुखुरा पालन गर्दै आएकी छिन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले उत्पादनलाई बिक्री वितरणका लागि बजार सँग जोड्न विकास निर्माणका कामहरु भइरहेको उल्लेख गरेका छन् । गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा बंगरपालन व्यवसायलाई प्रवद्र्धन गर्ने योजना अघि बढाइएको अध्यक्ष राईले बताए । 

गत भाद्र २७ गते हतुवागढी गाउँपालिकाले एक सूचना जारी गर्दै उत्कृष्ट कृषक छनोटका लागि आवेदन माग गरेको थियो ।

हतुवागढी गाउँपालिका भरीका नमुना योग्य कृषि कार्य र पशुपालन गर्ने मध्ये छनौटको लागि सुचिकृत कृषकहरुबाट उत्कृष्ट कृषक छनौटको मापदण्ड बनाई छनोट गरी पुरस्कृत गरिएको जनाइएको छ ।