इटहरी । कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो ।
बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा कार्यक्रम हुने कम्पनीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनकाअनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ । जसअनुसार कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअप विधामा अवार्ड प्रदान गरिने अध्यक्ष अधिकारीले जनाए ।
निर्णायक समितिको सिफारिसका आधारमा छनोट गरिएको उनको भनाइ छ ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा रहने जनाइएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौलासहित उच्च सरकारी ओहोदाका व्यक्तिहरूसमेत सहभागी हुने बताइएको छ ।
उक्त कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानल, इटहरीमै रहेको विराट टेलिभिजन, सप्तकोसी टेलिभिजन, एरिना टेलिभिजन र प्रदेश खबरको आधिकारिक वेबसाइट र फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि हुनेछ ।