‘नेकपा एस प्रवेश गर्ने हल्ला गलत’ : मेयर चौधरी र वडाध्क्ष भट्टराई

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार ०७:१५ मा प्रकाशित

इटहरी । इटहरीका मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरी र वडाध्यक्ष चन्द्र भट्टराईले आफूहरु नेकपा एसमा प्रवेश गर्ने हल्ला गलत भएको स्पष्ट पारेका छन् । उनीहरुसहित एमालेका जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गर्ने भन्दै समाजवादी एस इटहरी नगर समितिको फेसबुक प्रोफाइलमा पोष्ट भएसँगै इटहरी तरंगित भएको थियो ।


नेकपा एसका अध्यक्ष माधव नेपाल, मुख्यमन्त्री राजेन्द्र राईलगायत मेयर चौधरीको घरमा जाने र पार्टी प्रवेश गर्ने भन्दै लेखिएको उक्त स्टाटस अहिले डिलिट गरिएको छ । स्टाटसमा भनिएअनुसार नेताहरु मेयर चौधरीको घरमा पुगेका थिए । त्यहाँ उनीहरुले खानासमेत खाए । नेपाल दलबलसहित मेयर चौधरीको घरमा पुगेको तस्वीर तथा भिडियो सार्वजनिक भएसँगै उक्त स्टाटस सत्य भएको आशंका फैलिएको थियो । 


तर चौधरीले भने उनले आफू एमालेमै रहेको बताएका छन् । उनले आफ्नो काम आगो झोस्ने भएको भन्दै आगो झोस्दा डढेलो लागेको बताए ।


यता वडाध्यक्ष तथा प्रदेश कमिटि सदस्य भट्टराईले पनि भ्रामक, कपोलकल्पित र राजनैतिक चरित्र हत्या गर्ने दुश्प्रयास राखी सुचना प्रशारण भएको भन्दै तत्काल हटाउन चेतावनी दिएका छन् । ‘अन्यथा उक्त राजनैतिक पार्टी र तिनको नेताहरुको विषयमा सामाजिक संजालमा लेख्न बाध्य हुने कुरा जानकारी गराउँछु,’ भट्टराईले आफ्नो फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।


जब फेसबुकमा लेखियो, ‘इटहरीका मेयर नेकपा समाजवादीमा प्रवेश गर्ने तयारी!’