जब फेसबुकमा लेखियो, 'इटहरीका मेयर नेकपा समाजवादीमा प्रवेश गर्ने तयारी !'

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार १२:१८ मा प्रकाशित

इटहरी । इटहरीका मेयर तथा नेकपा एमाले नेता द्वारिकलाल चौधरीसहित एमालेका जनप्रतिनिधिहरु नेकपा एसमा प्रवेश गर्ने हल्लाले शुक्रबार बिहानै इटहरी तातेको छ ।

मेयर चौधरीको घरमा नेकपा एसका अध्यक्ष माधब नेपाल र मुख्यमन्त्री राजेन्द्र राईबिच भेटघाट रहेको र चौधरी, वडाध्यक्ष चन्द्र भट्टराईसँगै धेरै जनप्रतिनिधिहरु पार्टी प्रवेश गर्न लागेको भन्दै फेसबुकमा लेखिएपछि इटहरी तरंगीत भएको हो । फेसबुकमा लेखिएअनुसार नेपाल, राईलगायत नेकपा एसका नेताहरु मेयर चौधरीको घर पुगेका छन् । तर मेयर चौधरीले पार्टी नै परिवर्तन गरेको वा गर्न सक्ने भन्ने कुरा भने कसैले पुष्टि गरेको छैन । 

नेकपा एकीकृत समाजबादी इटहरी नामक फेसबुक प्रोफाइलमार्फत् यस्तो पोष्ट भएको हो । पोष्टमा ‘म यो क्षेत्रको मेयर भएकोले नेता ज्युहरुसङ्ग सम्बन्ध राख्नु कुनै अप्ठ्यारो विषय होइन,’ मेयर चौधरीले भनेका छन् भनेरसमेत लेखिएको छ ।

केही समयअघि उनले एकीकृत समाजबादीका १ नं. प्रदेश अध्यक्ष एवम् उदयपुर त्रीयुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग गफ गर्दै गरेको भनेर फोटो र घुँगी खाँदै गरेको भिडियो फेसबुकमा पोष्ट गरेका थिए ।

एमाले कम्पनिजस्तो भयो भनेर चौधरीले केही दिनअघि अधिवेशन आयोजक समिति गठन गर्न गरिएको भेला बहिष्कार गरेका थिए । इटहरीमा फेरी पनि मेयरको टिकटको दावेदारी दिएका चौधरीले सोको लागि पार्टीसमेत परिवर्तन गर्न सक्ने एकाथरीको आँकलन छ । अर्काथरीले भने एमालेलाई तर्साउन यसो गरिएको अनुमान गरेका छन् । तर राजनीतिका चतुर खेलाडीको रुपमा आफूलाई पुष्टि गरीसकेका मेयर चौधरीले भने स्टाटस र समाजवादी एसका अध्यक्षसँगको भेटघाटको उद्देश्यका विषयमा केही सार्वजनिक गरिसकेका छैनन् ।