सुनसरी । खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीय छात्रालाई आफ्नै साथीहरूले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
केपिलासगढी गाउँपालिकास्थित विद्यालयमा कक्षा–८ मा अध्ययनरत छात्रालाई सोही विद्यालयकै कक्षा–९ मा अध्ययनरत १५–१६ उमेर समूहका दुई जनाले साउन १९ गते राती सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर फर्कने क्रममा दुई जनाले जङ्गलको बिचमा आएपछि बाटो छेकेर ओडारमा लगेर रातभरि बलात्कार गरेको पीडित छात्राको परिवारले जनाएको छ ।
विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोज्ने क्रममा भोलिपल्ट घटनास्थलमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
आफन्तले साउन २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएका छन् । आरोपित दुवै जना किशोर फरार रहेको प्रहरीले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षणपछि बिहीबार आफन्तको जिम्मा लगाएर पठाइएको छ ।