इटहरी । कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । जसमध्ये २०८२ सालमा ६ दिन सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।
संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।
बैठकअनुसार बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।
यसैगरी भदौ १२ गते ऋषि पञ्चमी (महिलाका लागि), असोज २० गते कोजाग्रत पूर्णिमा र कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।