सुनसरी । इस्टर्न टुरिजम मार्टको पांचौ संस्करण इटहरीमा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा आइतबार सुरु भएको मार्टको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्धघाटन गरेका छन् ।
भारतीय पर्यटकहरु र प्रदेशका पर्यटन व्यवशायीहरुलाई एक स्थानमा जमघट गराएर व्यवशाय आदानप्रदान गराउने उद्देश्यले सुरु गरिएको मार्ट तीन दिनसम्म चल्ने कार्यक्रम संयोजक रबिन गौतमले जानकारी दिए ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले २०८२ लाई पर्यटन वर्ष मनाउने कोशी प्रदेश सरकारले तयारी गरेको र पर्यटन पहिलो प्राथमिकतामा हुने बताए ।
भारतको बंगाल, बिहार, सिक्किम र भुटानका गरी एक सय बढी पर्यटन व्यावशायी, ग्रामिण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरु सहभागी छन् । कोशी प्रदेशका १४ वटा जिल्ला झल्कने स्टलहरु समेत रहेको कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।
कार्यक्रमका दौरानमा प्रमुख पर्यटकीय गन्तब्यहरु धरान, भेडेटार, बराहक्षेत्र, कोशीटप्पु, रामधुनीलगायतका स्थानहरुको अवलोकन तथा अन्तरक्रिया गराइने छ । कार्यक्रममा पूर्वक्षेत्रको पर्यटन पूर्वाधारमा ठुलो लगानी गर्ने व्यावशायीहरुलाई पर्यटन एवार्डले सम्मान गरिने जनाइएको छ ।
कार्यक्रम सम्पन्न गर्न पर्यटन बोर्डले ३० लाख, इटहरी उपमहानगर र कोशी प्रदेश सरकारले पांच–पांच लाख रुपैया उपलब्ध गराएको छ ।