इटहरी । कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई जरिवाना गर्ने प्रावधान खारेज गर्न माग गर्दै बिहीबार प्रदेशका १४ वटै जिल्लामा पत्रकारहरूले एक घण्टा धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ कोशीका अनुसार महासंघले भदौ ९ गतेदेखि चरणबद्ध आन्दोलन थालेको हो। उक्त आन्दोलन अन्तर्गत बिहीबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी कार्यालय अगाडि धर्ना दिइएको हो ।
भदौ १३ गते शुक्रबार दिउँसो विराटनगरको देवकोटा चोकमा पनि एक घण्टा धर्ना दिने कार्यक्रम तय भएको महासंघले जनाएको छ ।
विवादास्पद विधेयकमा समाचार लेखेकै आधारमा पत्रकारलाई १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहित कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानमा सरकारद्वारा नियुक्त रजिष्ट्रारलाई व्यापक कार्यकारी अधिकार दिने व्यवस्था गरिएको छ। यसै प्रावधानको विरोधमा महासंघ आन्दोलित बनेको हो।
पत्रकार महासंघले राजनीतिक नियुक्ति पाएका रजिष्ट्रारलाई समाचारबारे उजुरी लिनेदेखि जरिवाना असुल गर्ने र क्षतिपूर्ति तोक्ने अधिकार दिन खोजिएकोमा गम्भीर आपत्ति जनाएको छ। महासंघले विवादास्पद दफा संशोधन नगरे सडक आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।