विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् ।
एमाले नेता भीम आचार्यले सोमबार मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री बन्ने भएका हुन्।
प्रदेश नं. १ का नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका राईलाई मंगलबार(आज) दिउँसो मुख्यमन्त्री पदको सपथ गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ।
प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका हुन्। तर सत्तारुढ एमालेबाट नेकपा (एकीकृत समाजवादी) विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेका छन्।
एमालेबाट समाजवादी विभाजन हुनुअघि प्रदेशमा एमालेका ५१ सांसद थिए। अहिले सभामुखसहित ४१ जना मात्रै छन्।
९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ। गठबन्धनमा रहेकामध्ये कांग्रेसका २१, नेकपा ९माओवादी केन्द्र०का १५, एकीकृत समाजवादीका १० र जनता समाजवादीका ३ सांसद छन्।