विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’लाई प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भन्दै विरोधमा चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।
महासंघले संविधानको मर्म विपरीत रहेको भन्दै विधेयक खारेजीको माग गरेको छ। महासचिव हिमाकुमारी चेम्जोङले जारी गरेको विज्ञप्तिअनुसार भदौ ८ गते सर्वपक्षीय छलफलपछि दबाबमूलक कार्यक्रम अगाडि बढाउने निर्णय भएको हो।
कार्यक्रमअनुसार भदौ ९ गते सामाजिक सञ्जालमार्फत खबरदारी, भदौ १० गते मुख्यमन्त्री र मन्त्रीहरूलाई ध्यानाकर्षण तथा प्रदर्शन, भदौ ११ गते प्रदेशसभा सदस्यलाई सन्देश, भदौ १२ गते मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र भदौ १३ गते विराटनगरको देवकोटा चोकमा वृहत् धर्ना हुने तय भएको छ।