झापा । झापाको कन्काई नगरपालिकामा कुकुरले टोकेर एक जना बालकको मृत्यु भएको छ।
सङ्खुवासभा चैनपुर नगरपालिका–७ घर भई हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरागरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्रकाशको मृत्यु भएको हो ।
विगत डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण उपचार नगराई बसेकामा शुक्रबार भने एक्कासी बालकको स्वास्थ्यमा समस्या आएको थियो ।
बालकलाई भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो ।
उनको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।