तरहरामा बसको ठक्करबाट दिदी भाइ घाइते

न्युजलय १९ जेठ २०८२, आइतबार ०५:३९ मा प्रकाशित

इटहरी । इटहरी–२० तरहरा स्थित होम्समा झापाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसले  मोटरसाइकल ठक्कर दिँदा एकै परिवारका दिदी भाइ सख्त घाइते भएका छन् ।

धरान आउँदै गरेको प्रदेश २–००२ ख ०२९९ नम्बरको बसले बाटो काट्ने क्रममा रहेको प्रदेश १–०२–०१४ प ६७७५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा भोजपुरको अरुण गाउँपालिका–८ निवासी ३२ वर्षीय मोटरसाइकल चालक खगेन्द्र चौलागाईं र पछाडि सवार उनकी दिदी, इटहरी–२० निवासी ४० वर्षीया लक्ष्मी पराजुली गम्भीर घाइते भएका छन्।

दुवै घाइतेको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको तरहरा प्रहरी चौकीले जनाएको छ ।

ठक्कर दिने रेसम फिलिली कम्पनीको बस र बसका चालक धरान–१३ निवासी ३३ वर्षीय सुमन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।