इटहरी । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राईले किरात समुदायको मुन्दुमी स्थल खुवालुङको स्थलगत अवलोकन गरेका छन् ।
किरात अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको विशेष निमन्त्रणामा सोमबार प्रदेश सरकारको मन्त्री स्तरीय टोलीले खुवालुङ क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।
अवलोकनका लागि खुवालुङ क्षेत्र पुगेका मन्त्री राई सहित मन्त्रालयका सचिव हेमराज तामाङ, संस्कृति पुरातत्व विभाग महाशाखा प्रमुख यादव दुलाल लगायत उच्च पदस्थ कर्मचारीहरुलाई प्रतिष्ठानका अध्यक्ष सदर राईले स्वागत सम्मान गरेका थिए ।
खुवालुङ क्षेत्र पुगेपछि मन्त्री राईले एतिहासिक साँस्कृतिक क्षेत्रको संरक्षण गर्ने सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र रहेको उललेख गर्दै खुवालुङ क्षेत्र संरक्षण र प्रवद्र्धनले प्रदेशको पर्यटन साथै प्रदेश सरकारको आर्थिक समृद्धीमा टेवा पुग्ने बताए । मन्त्री राईले खुवालुङ क्षेत्रको विकासको निम्ति आगामी आर्थिक वर्ष संघिय सरकारको योजनामा विशेष अनुदान बजेटको रुपमा १० करोड रकम प्रस्तावित गरिएको जानकारी समेत गराए ।
किरात अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका सचिव राम माण्डुपा राईले खुवालुङलाई सम्पूर्ण समुदाय र राज्यको सास्कृतिक सम्पदाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रतिष्ठानले विगत देखि नै खुवालुङ सँगै तुवाचुङ र साल्पापोखरी सम्म मानव विकास सम्बन्धि अध्ययन र भौतिक विकासको लागि पहल गरिरहेको सचिव राईले उल्लेख गरे ।
उनका अनुसार सांस्कृतिक इन्जिनियरिङ, भू–गर्वशास्त्रीय दृष्टिकोण, मुन्दुमी पक्ष, सिभील र आर्किटेक्ट इन्जिनियरिङ, पर्यटन प्रवर्द्धन र भैतिक विकास सँग जोडेर अध्ययन गर्ने उद्देश्यका साथ खुवालुँ क्षेत्रको स्थलगत अवलोकन तथा भ्रमण आयोजना गरिएको हो ।