झापामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

न्युजलय १३ साउन २०८२, सोमबार ११:५९ मा प्रकाशित

झापा । झापाको मेचीनगरस्थित सहरेडाँगीमा स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

आइतबार साँझ साढे ७ बजे मेचीनगर नगरपालिका–१२ स्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे १ च ६१३१ नम्बरको स्कारपियोले ती पैदल यात्रीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

४५–४६ वर्ष उमेरका ती मृतकको नाम, थर र वतन खुलेको छैन। घटनापछि स्कारपियो चालक हल्दिबारी गाउँपालिका–१ निवासी ४८ वर्षीय गजेन्द्रबहादुर बिस्टलाई नियन्त्रणमा लिएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।