इटहरी । सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित लिटिल बड्ज एकेडेमीको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मंगलबार दिउँसो स्कुल बसबाट ओर्लिने क्रममा स्थानीय श्रवण उरावका ३ वर्षीय छोरा आयुष उरावलाई बसको पछाडिको चक्काले किचेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
ग १ ख २०१२ नम्बरको स्कुल बसबाट ओर्लने क्रममा बालक चक्कामुनि परेका थिए। घटनापछि स्कुल बस चालक गढी ३ का विनोद कुमार मेहता फरार छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
स्कुल बसलाई प्रहरी नियन्त्रणमा लिइएको छ। शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।