किवानिस क्लब अफ तरहराले मनायो बाल आश्रममा होली

न्युजलय ३० फाल्गुण २०८१, शुक्रबार १०:४८ मा प्रकाशित

इटहरी । किवानिस क्लब अफ तरहराले निःसहाय बाल आश्रम इटहरीका बालबालिकाहरुसँग होली मनाएको छ । 


आश्रमका लागि खाद्यान्नका साथै ल्याक्टोजिन, डायपरजस्ता सामानहरु प्रदान गरिएको थियो । क्लबका सल्लाहकार दुर्गा गिरीले १० हजार रुपैयासमेत आश्रमलाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक मदन बस्नेतले जानकारी दिए । काँग्रेस युवा नेता सिजन गुरुङको प्रमुख आतिथ्य तथा अर्जुन बस्नेत र दुर्गा गिरीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको थियो । 


क्लबले यसअघि पनि यस्तै विभिन्न सामाजिक कामहरु गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने अध्यक्ष घिमिरेले बताए ।