मोरङमा बलात्कारपछि ७ वर्षीया भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद सजाय

न्युजलय ७ साउन २०८२, मङ्गलबार ११:४० मा प्रकाशित

मोरङ । मोरङको धनपालथान गाउँपालिका–५ मा ७ वर्षीया भतिजीमाथि बलात्कार गरी हत्या गर्ने काका अनिष सरदारलाई जिल्ला अदालत मोरङले आजीवन कैद हुने फैसला सुनाएको छ।

२२ वर्षीय अनिषले गत असार १४ गते आफूसँगै सुतेकी भतिजी आत्तिका सरदारलाई बलात्कार गरेका थिए।

घटना लुकाउन उनले बालिकाको हत्या गरी घरदेखि करिब एक सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव फालेका थिए।

शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा अभियुक्त अनिष आफैं काकाको नातामा रहेको खुलेको थियो। अनिषले अदालतमा सार्वजनिक रूपमा कसुर स्वीकार गरेका थिए।

न्यायाधीश बाबुराम सुवेदीको इजलासले मुलुकी अपराध संहिता दफा ४१ बमोजिम अनिषलाई जीवित रहुन्जेल कैद गर्ने फैसला गरेको हो।

साथै, अदालतले अनिषलाई ७ लाख रुपैयाँ जरिवाना गर्ने र त्यो रकम पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। यस्तै, मृतक बालिकाका नजिकका नातेदारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला सुनाइएको छ।

यसअघि प्रहरीले प्रारम्भिक प्रमाण संकलनपश्चात अनिषविरुद्ध जबरजस्ती करणी र हत्या सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो।

सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेपछि सोमबार भएको बहस सकेसँगै दोषी ठहर गरी सजाय सुनाइएको हो।