इटहरी । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको तेश्रो वार्षिक साधारणसभा इटहरीमा शुक्रबार सम्पन्न भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट भेला भएका शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरुको सहभागिता रहेको थियो ।
साधारणसभामा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्न प्रदेशबाट नै दर्ता, अनुमति, नविकरण र अनुगमन गर्ने गरी काम अघि बढाएको बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शैक्षिक परामर्श व्यवसायलाई नियमन प्रदेश सरकारमार्फत भए व्यवशायीहरुलाई पनि सहज हुने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ कोशी प्रदेशका पूर्वअध्यक्ष मोहन विक्रम तिगेला, सहयोगी संस्था आइडीपीका प्रतिनिधि श्रीषा कँडेल, चण्डिगढ विश्वविद्यालय भारतका प्रतिनिधि तरुण खन्ना लगायतले पनि बोलेका थिए । यसैगरि साधारणसभाले रिक्त रहेको कोषाध्यक्ष पदमा इटहरीका चन्दन माझीलाई चयन गरेको छ भने कार्य समिति सदस्यहरुमा इटहरीका विनोद कोइराला, किरण कुमार थापा र धरानकी केशरी राईलाई मनोनयन गरेको छ ।
साधारणसभाको बन्द सत्रमा संंस्थाका सचिव नरेन्द्र दंगालले वार्षिक प्रगती विवरण तथा आगामी कर्यायोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चन्दन माझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय शैक्षिक परामर्श संघ नेकामा कोशी प्रदेशमा रहेरा शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका ३० वटा कन्सल्टेन्सीहरु आवद्ध छन् ।
नेका कोशी अध्यक्ष सन्तोष लिम्बूको अध्यक्षतामा भएको कार्यक्रम सचिव नरेन्द्र दंगालले सञ्चालन गरेका थिए ।