धरान । धरानका यातायात मजदुरहरुलाई आइतबार सडक दुर्घटना न्युनिकरणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
यातायात बन्द रहेको अवस्थालाई उपयोग गर्दै कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै मजदुर नेता भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात विकल्पहिन साधन भएपनि असुरक्षित र प्रत्येक दिन न्युनतम सात जनाको ज्यान गइरहेको जानकारी दिएका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका राईले सडक दुर्घटना हुनुमा भौतिक कारण, मानवीय कारण, यान्त्रिक कारण र पर्यावरणीय कारण रहेको उल्लेख गर्दै चालकहरु धैर्य र संयमित बन्नसके मानविय त्रुटिले हुने दुर्घटनालाई न्युनिकरण गर्न सकिने बताए ।
भौतिक रुपमा सवारीसाधनको आवश्यक्ता, यात्रुको चाप, प्रकृतिका आधारमा आयात, ट्राफिक व्यवस्थापनलाई आधुनिकिरण र सडक निर्माणको सन्तुलनलाई सन्तुलित बनाउनुपर्ने, मानविय कारणहरुमा चालकहरुले मादक पदार्थ र लागु पदार्थ सेवनलाई पूर्ण अन्त्य, चालकहरुको उमेर, अस्वस्थ प्रतिष्पर्धा, तिब्र गतिलाई नियन्त्रण गर्नुपर्ने बताए ।
नेपाली बजारमा विक्रिवितरण हुने नक्कली पार्टपूर्जाहरु र कमसल इन्धन विक्रिवितरणमा रोक लगाउँदै नियमन र मापदण्ड निर्माण गर्नु पर्ने र पर्यावरणीय कारण अन्तर्गत सितलहर, हुस्से, अति वर्षा, बाढी, पहिरोको अवस्थामा पूर्व सूचना दिने प्रविधि र अनुशिक्षणमा ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक तथा प्रमुख अतिथि सरोज श्रेष्ठले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा त्यस्ता सवारीसाधनलाई छुटपुर्जी रोक्का गरिने बताए । श्रेष्ठले सडक दुर्घटना हुँदा राज्यले अनुसन्धान गरेर गल्ती गर्ने सवारीसाधनलाई क्षतिपुर्ति भराइने कोशी प्रदेश यातायात व्यवस्था ऐनमा उल्लेख भएको भएतापनि गल्ती नहुँदा पनि ठुलो सवारीसाधनले तिर्नु परेको गुनासो गरे ।
इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी प्रकास जबेगुले सडक दुर्घटना हुँदा चालकहरु र सवारी धनीलाई प्रभावित हुने सवारी तथा यातायात व्यवस्था ऐनका दफाहरु बारे जानकारी दिए ।
त्यस्तै सडकमा हिड्दा चालकहरुले अपनाउनुपर्ने ट्राफिक नियमहरुका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले जानकारी दिएका थिए । सडकमा निस्कनुअघि चालकहरुले सवारीसाधनको अवस्था र जाँच गर्नुपर्ने विषय र चालकहरुले साथमा राख्नु पर्ने कागजात बारे बताएका थिए ।
कार्यक्रम नेपाल यातायात स्ववसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले संयुक्त रुपमा आयोजना गरेको हो । धरानका १ सय ५ जना यातायात मजदुरहरुको उपस्थिति रहेको थियो ।