सुनसरी । केही समयदेखि बन्द रहेको सुनसरी जिल्ला अदालतको नियमित काम–कारवाहीहरू आगामी असोज २६ गतेदेखि पुनः सुरु हुने भएको छ।
भाद्र २४ गतेको घटनाका कारण अदालतबाट प्रवाह हुने सेवा, साप्ताहिक र दैनिक पेशी लगायतका कार्यहरू प्रभावित भई बन्द रहँदै आएको थियो।
यसबीचमा सर्वोच्च अदालतको मुख्य सर्भरसमेत अस्थायी रूपमा बन्द भएको र त्यसलाई सञ्चालनमा ल्याउन थप समय लाग्ने भएकाले, अदालतले तत्कालका लागि म्यानुअल प्रणालीमार्फत मुद्दा सूची प्रकाशन गर्ने निर्णय गरेको हो।
अदालतका अनुसार अबदेखि साप्ताहिक र दैनिक पेशी सूची म्यानुअल रूपमा तयार गरी सार्वजनिक गरिने र मुद्दाहरूको सुनुवाइ पनि नियमित रूपमा अघि बढाइनेछ।
अदालतको सेवाहरू लामो समयदेखि स्थगित हुँदा मुद्दा दर्ता, पेशी तोक्ने कार्य, आदेश लेख्ने प्रक्रिया लगायतका न्यायिक कामहरू प्रभावित बनेका थिए। नियमित कामकाज ठप्प हुँदा मुद्दा सम्बद्ध पक्षहरू समेत प्रभावित भएका थिए।
अब अदालतले म्यानुअल प्रणाली अपनाएसँगै मुद्दा सम्बन्धी सुनुवाइ र निर्णय पुनः सुचारु हुने भएपछि न्याय माग्दै आएका सेवाग्राहीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ। सर्भर पुनः सञ्चालनमा आएपछि सबै कार्यहरू पुनः डिजिटल प्रणालीमै फर्काइने अदालतले जनाएको छ।
यो निर्णयसँगै लामो समयदेखि रोकिएका अदालतका कामहरू पुनः गतिशील बन्ने आशा गरिएको छ।