कोशी प्रदेश ज्ञानको उर्वर भूमी : प्रधानमन्त्री ओली

न्युजलय २७ फाल्गुण २०८१, मङ्गलबार ०३:५५ मा प्रकाशित

विराटनगर । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कोशी प्रदेश शिक्षाको उर्वर भुमी भएको बताएका छन् । उनले भगवानहरुलाई पढाउने ऋषि गुरुहरू भएको स्थल कोसी भएको जिकिर गरेका छन् ।


मोरंगको सुन्दरहरैंचामा पर्ने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १३ औ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले भगवान राम, सिता, दशरथ र शिवको युगको बेलादेखि नै यो ठाउँ शिक्षा दिक्षाकोलागि असाध्यै उर्वर ठाउँ भएको बताए ।


यस विश्वविद्यालयले छोटो अवधिमा धेरै प्रगति गरेको उल्लेख गर्दै ओलीले आजैदेखि कृषि स्कुल आफ एग्रिकल्चर र हेल्थ एन्ड साइन्सको उद्घाटन सुरु भएको बताए । उनले अब विश्वविद्यालयले छिट्टै मेडिकल कलेज सञ्चालन गरेर काम थाल्ने दाबी गरे ।


उनले बढ्दो प्रविधिको विकाससँगै नागरिकलाई च्याट जिपीटि र एआईले सजिलो बनाएको उल्लेख गरे । उनले विद्यार्थीलाई पाठमा मात्रै केन्द्रित नभई ज्ञानको तत्त्व घुसाउन लाग्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई पलायन नहुन आग्रह गरे । 


दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कलाका २०४, कानुनका ४०७, शिक्षाशास्त्रतर्फ ९०६, व्यवस्थापनका दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधिमा ६५४ तथा इन्जिनियरिङ सङ्कायका एक हजार ४४२ विद्यार्थी छन् ।