सुनसरी । सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाखभन्दा बढी मूल्य बराबरको सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले तीन छुट्टाछुट्टै स्थानमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, किराना सामग्री र चारवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
आज बिहान सुनसरीको गढी गाउँपालिका–२, औरावनी, इनरुवा नगरपालिका–४ हनुमानचोकस्थित पूर्वपश्चिम लोकमार्ग, दुहबी नगरपालिका–११ नहरचोकलगायतका ठाउँमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका क्रममा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।
मोटरसाइकल र बरामद भन्सार छली सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरीले जनाएको छ ।