खोटाङ । खोटाङमा शङ्कास्पद अवस्थामा एक युवती मृत फेला परेकी छिन् । स्थानीय सहकारीमा कार्यरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी रेश्मीका सिवा परियारलाई शङ्कास्पद अवस्थामा मृत भेटिएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मीका भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबिचमा पर्ने मार्से सामुदायिक वनमा मृत भेटिएकी हुन् ।
सहकारीका अध्यक्ष सागर तामाङका अनुसार रेश्मीका आइतबार अपराह्न ४ बजे कार्यालयबाट बाहिरिएकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा रेश्मिकाको शव बाँसघारीमा भेटिएको हो ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको आशङ्का गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिन्छ ।
त्योभन्दा केही तल झोला र अन्डरवेर भेटिएको छ । सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
आफन्तका अनुसार घटनाअघि रेश्मिका र श्रीमानबिचमा फोन सम्पर्क भएको बताइएको छ ।