विराटनगर । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगर –७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर–७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३–००१ ख १७१२ नम्बरको ट्रकमा गत फागुन ११ गते स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।
हाटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र पछाडि सवार विराटनगर–७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।
उपचाररत तिवारीको आज बिहान मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । परीक्षणका क्रममा मादक पदार्थ सेवन गरेर उनले स्कुटर चलाएको पत्ता लागेको हो ।
स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।