इजरायली राजदुतलाई मुख्यमन्त्री कार्कीको प्रस्ताव : 'कृषिमा सहकार्य गरौं'

न्युजलय ११ भदौ २०८२, बुधबार ०१:०९ मा प्रकाशित

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि क्षेत्रमा इजरायलसँग सहकार्य गर्न आह्वान गरेका छन् । 


विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इजरायली राजदूत श्मुलिक आरि बाससँग भेटमा उनले  आधुनिक कृषि प्रविधिबाट उल्लेखनीय प्रगति हासिल गरेको इजरायलको अनुभव कोशी प्रदेशका लागि उपयोगी हुने भन्दै सहकार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे ।


मुख्यमन्त्री कार्कीले नेपाल–इजरायलबीचको ऐतिहासिक मित्रतालाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताए । 


उनले प्रदेश सरकारले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न ब्याजअनुदानसहित उद्यमशीलता कार्यक्रम अघि सारेको र कृषकलाई तालिम तथा सीप प्रदान गर्न सके आर्थिक समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले इजरायलमा कार्यरत नेपालीहरूको अवस्थालाई व्यवस्थित बनाउन र थुनामा रहेका नेपाली युवा बिपिन जोशीको रिहाइका लागि पहल गर्न पनि आग्रह गरे ।


सो अवसरमा इजरायली राजदूत श्मुलिक आरि बासले नेपाल–इजरायल सम्बन्ध ऐतिहासिक रूपमा गहिरो रहेको उल्लेख गर्दै कृषि र केयरगिभिङ क्षेत्रमा सहकार्यका अवसर अझै बढाउन सकिने धारणा राखे।


उनले नेपालमा कृषि व्यवसायमा आबद्ध जनसङ्ख्या धेरै भए पनि सोअनुसारको प्रगति नदेखिएको, तर सानो जनसङ्ख्यामा आधारित इजरायलले उल्लेखनीय सफलता हासिल गरेको उदाहरण दिँदै कोशी प्रदेशमा कृषि सहकार्यका ठुला सम्भावना रहेको बताए ।