राजमार्गको रेलिङमा जोतियो पिकअप, दुर्घटनामा असई खतिवडाको निधन

न्युजलय २७ बैशाख २०८२, शनिवार ०७:४२ मा प्रकाशित

इटहरी । सुनसरीको दुहबीमा शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका असई विरोध खतिवडाको निधन भएको छ ।


विराटनगर जाँदै गरेको प्रदेश २–०१–००१ च ०२५१ नम्बरको मिनी पिकअप भ्यान अनियन्त्रित भई सडकको बायाँ किनारमा ठोक्किएर दुर्घटना भएको हो । रेलिङ बार नै भित्र पस्नेगरी इन्जिन पुरै कुच्चिएको भ्यानमा खतिवडासहित तीन जना सवार थिए । 


गम्भीर घाइते भएका खतिवडाको उपचारको क्रममा मोरङको बूढीगंगास्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । यस्तै चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी छोरी १४ वर्षीया रोजिना कार्की सामान्य घाइते भएका छन् । उनीहरूको थप उपचार भइरहेको छ ।


उदयपुर घर भएका खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरमै कार्यरत थिए । उनको अढाई वर्षअघि मात्र विवाह भएको थियो । उनी मायोटोनिक डिस्ट्रफी नामक रोगसँगसमेत जुध्दै थिए ।