पाकिस्तानमा कुपोषणबाट १७ लाख बालबालिकाको मृत्यु

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०८:२८ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा कुपोषणका कारण १७ लाख ७ हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताए।

 

पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलाई उद्धृत गरी उल्लेख गरेको छ। 


मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण सूक्ष्म पोषक तत्व जिंकको अपर्याप्तता हुने गरेको स्वीकार गरे। बुधबार ‘जिङ्क गहुँको प्रयोगमार्फत् जिंकको कमीलाई सम्बोधन’ कार्यक्रममा उपस्थित मन्त्रीले इमामले भने, ‘हार्भेस्टप्लसको सहयोगमा पाकिस्तानमा परम्परागत तीन किसिमका जैविक गहुँ बालीलाई लगाउन प्रोत्साहन गर्न बजारमा बिउ पठाइएको छ।’


उनले प्रभात पत्रिकासँगको कुराकानीमा भने, ‘हाम्रो संयुक्त प्रयासमा यस वर्ष तीन लाख ६० हजार हेक्टरमा जैविक रूपमा सुदृढ गहुँका जातीहरू खेती गरिएका छन्।’ बाली लगाउने समयमा चालु बालीसँगै १ लाख ६० हजार मेट्रिक टनभन्दा बढी जैविक रूपमा गहुँको दाना उत्पादन हुने अपेक्षा गरिएको फाखर इमामले बताए। कुपोषण र खानपानका कारण रुग्णता र मृत्युदर बढ्न गएको पानाहाका महासचिव सनौल्लाह घम्मनले बताए।