घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङका किसानहरुलाई व्यवसायिक मौरी पालन तालिम प्रदान गरिएको छ ।
हतुवागढी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रदान गरिएको मौरी पालन सम्बन्धी १० दिने तालिम शुक्रबार सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष प्रेमकुमार राईले यस अघि सिन्द्राङ, खैराङ क्षेत्रमा मौरीपालन प्रशिक्षण र घार वितरण गरि सकिएकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै गाउँपालिकलाई मौरीपालन र मह उत्पादनको हव बनाउनु पर्नेमा जोड दिएका छन् ।
साविक होम्ताङ गाविसका अग्रज मौरी पालक किसानहरूको सहभागितामा वडा नं ५ को कार्यालयमा आयोजित तालिमको सहजीकरण कृषिविज्ञ बुद्धिनाथ तिम्सिनाले गरेका थिए । तालिम अवधिभर मौरीपालक किसानको घरघरमा पुगेर आधुनिक घारमा मौरी स्थानान्तरण, मैन बनाउने तरिका, मौरीलाई आहारा व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण गरिएको थियो ।
हतुवागढीमा मौरीपालन गरिरहेको र पुरानो व्यवसाय भएपनि त्यस सम्बन्धि ज्ञानसीपको अभाव हुँदा व्यवसायिक पालन नभएको अवस्थामा किसानहरुको सीप विकासको लागि तालिमको आयोजना गरिएको गाउँपालिका कृषि शाखा प्रमुख ज्योति देवानले बताए ।
तालिम पछि कृषकहरुले उत्साहित हुँदै व्यवसायिक मौरी पालन समूह निर्माण गरी आफ्नो क्षेत्रलाई मौरी पालनको पकेट क्षेत्र घोषणाका लागि उत्पादनमा वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । आगामी दिनमा घार निर्माण, रानी मौरी उत्पादन सम्बन्धी प्रशिक्षण र बजार व्यवस्थान हुनुपर्ने प्रशिक्षार्थीहरुको अपेक्षा रहेको छ ।