विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गरेका छन् ।
कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै उनले ‘माउन्ट एभरेष्ट’ नामप्रति असन्तुष्टी जनाउँदै सगरमाथा भन्न आग्रह गरेका हुन् ।
‘एभरेस्ट न त सगरमाथा पत्ता लगाउने व्यक्ति हो, न त सगरमाथा चढेको हो,’ उनले भने, ‘एभरेष्ट भनिरहन पर्दैन, सगरमाथा इज सगरमाथा,’ उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीतिर हेर्दै भने, ‘हिक्मतकुमार कार्की इज हिक्मतकुमार कार्की, अरु केही होइन ।’
ओलीले एक पटक गैडालाई अंग्रेजीमा राइनो नभन्न आग्रह गरेका थिए । करिब चार सय विदेशी पाहुना आएको एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा उनले भनेका थिए, ‘गैंडाज आर गैंडाज, नट राइनोज।’
प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । उनले कोशी प्रदेश धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै युवाहरुलाई उद्यमशीलतातर्फ लाग्नसमेत आग्रह गरे ।