झापा । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासका नाममा तमासा गर्नेहरूले उधुम मच्याएको आरोप लगाए। ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर तमासा देखाएको उनको भनाई थियो ।
दमकमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अब कानुन र विधिअनुसार अगाडि बढ्नेसमेत दावी गरेका छन् । ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको उनले बताएका हुन् ।
आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरू, रक्सीका बोतल लुटेर भाग्नेहरूले क्रान्ति गर्छु भनेर भ्रम फैलाएको आरोप लगाए । जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन खोजेको आरोप लगाउँदै उनले उनीहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको बताए । पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेको बताउँदै उनले अदालतको समेत प्रयोग गरेर आफूहरुलाई सरकारबाट बाहिर पठाएको बताए । ‘तर, जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौं। अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौं । तपाईँहरू अस्थिरतावादीहरूको कुनै भ्रममा पर्नु पर्दैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आगामी बजेट र नीति तथा कार्यक्रम नयाँ ढंगले आउने बताउँदै कृषिको आधुनिकीकरण र विस्तारलाई प्राथमिकता दिएको बताए । उनले अर्थतन्त्र उकालो लाग्नेसमेत दावी गरे ।
भूमिहीन सुकुम्बासीहरूका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइने उनको भनाइ छ। उनले जनतामा आधारित एमाले पार्टी देशको भविष्य भएइको जिकिर गर्दै एमाले असफल भए देश असफल हुने बताए ।