झापाको एक होटलमा युवतीसँगै बसेका युवकको मृत्यु

न्युजलय २५ माघ २०८१, शुक्रबार १२:०९ मा प्रकाशित

झापा । झापाको एक होटलमा युवक मृत अवस्थामा फेला परेका छन् ।

बिर्तामोडस्थित एभरेष्ट होटल एण्ड लजमा बसेका हल्दिबारी गाउँपालिका–१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्रा मृत भेटिएका हुन् ।

घटनामा युवासँगै बसेकी सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र होटेल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहिबार राति खाना खाएर उनीहरु सँगै सुतेका थिए । मुनाले प्रहरीमा दिएको बयानअनुसार सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएका थिए ।

त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ ।

ती युवती र होटल सञ्चालकको बयानमा शङ्का लागेकोले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एक प्रहरीले जनाएको छ  ।