बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

न्युजलय २४ साउन २०८२, शुक्रबार ०४:५० मा प्रकाशित

सप्तरी । राजविराज नगरपालिका–१ पडरियामा भाइले बञ्चरो प्रहार गरी दाइको हत्या गरेका छन् । 

घरायसी विवादका कारण ३५ वर्षीया भाइ नरेन्द्र झाले शुक्रबार दिउँसो आफ्नै ४२ वर्षाीया दाइ लोकेन्द्र झामाथि बञ्चरो प्रहार गरेका हुन् ।

टाउकोमा बञ्चरो प्रहार गरेपछि गम्भीर घाइते भएका दाइको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई घटना लगत्तै उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा लगिएपनि उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । 

उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बञ्चरो प्रहार गर्ने भाइ फरार छन् । फरार रहेको भाईको खोजी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।