पाथीभरा क्षेत्रमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते

न्युजलय १३ माघ २०८१, आइतबार ०८:१४ मा प्रकाशित

विराटनगर । ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा उत्रिएको समुहमाथि प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । 


शनिबार बेलुका भएको झडपका क्रममा फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको हो । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रहरीमाथि गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीले फायरिङ गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । त्यसक्षेत्रमा शनिबार दिनभर नै झडप भइरहेको थियो । 


ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेको थियो । पहिचान पक्षधरले केबलकार निर्माणको विरोध गर्दै आएका छन् । 


आन्दोलनका लागि बलुडाँडामा भेला भएका पहिचान पक्षधरलाई प्रहरीले दिउँसो घेरा हालेर तितरवितर पारेको थियो । साथै केही सामग्री पनि प्रहरीले खोसेको थियो । बेलुका फेरि प्रहरी पुगेपछि झडप भएको हो । त्यसपछि प्रहरीले गोली चलाएको हो ।