संसदमा बोलिरहने श्रेष्ठ भन्छिन्, ‘जनताको आवाज उठाउनकै लागि हामी संसद पुगेका हौं’

न्युजलय ४ भदौ २०८२, बुधबार ०६:२१ मा प्रकाशित

इटहरी । कोशी प्रदेश सभामा गएको ३२ महिनामा धेरै पटक बोल्ने सांसदहरुमध्ये पर्छिन् इटहरीकी मिना श्रेष्ठ । समानुपातिक सांसद श्रेष्ठले मंगलबारसम्ममा प्रदेश सभामा ३० पटक बोलेकी छिन् । 


प्रदेशसभामा सबैभन्दा धेरै बोल्ने सांसदहरुमा सोलुखुम्बु १(१) बाट निर्वाचित माओवादी सांसद गोम्बु शेर्पा पर्छन् । उनले सबैभन्दा बढी ४८ पटक बोलेका छन् । यस्तैसुनसरी १(१) बाट एमाले सांसद रमेशकुमार बस्नेत, तेह्रथुम १(१) बाट निर्वाचित एमाले सांसद किशोरचन्द्र दुलाल, मोरङबाट समानुपातिक कांग्रेस सांसद शोभा चेम्जोङ आदि श्रेष्ठसँगै धेरै बोल्ने सांसदमा पर्छन् । 


त्यसो त संसदमा बोल्दै नबोल्ने सांसदहरु पनि छन् । एमालेका नम्बरलाल धिमाल र कांग्रेसकी लीलाकुमारी राईले अहिलेसम्म बोलेका छैनन् । अहिलेसम्ममा एक पटक, दुई पटक, तीन पटक बोल्ने सांसदहरु पनि धेरै छन् ।


तर संसद भनेको जनताको आवाज उठाउने ठाउँ भएकोले सकेसम्म बोल्नुपर्ने श्रेष्ठ बताउँछिन् । 


‘संसदको ३२ महिनामा मलाई डेंगु संक्रमणका कारण र पितृ शोकको कारण लामो समय संसद अनुपस्थित रहँदा रहँदै पनि मैले जनताको मुद्दा बढि उठाएको रहेछु,’ सांसद मीना श्रेष्ठले भनिन्, ‘जनताको मुद्दा लाई उठान गर्ने र उठान गरेको विषय कार्यान्वयन पनि भएको देख्दा खुशी लाग्छ, आखिरमा हामी सांसदले गर्ने भनेकै त्यही हो ।’ 


उनकाअनुसार उनले उठाएका कतिपय मुद्धा सम्बोधन भएका छन् । त्यसले आवाज उठाउन अझ प्रेरणा मिलेको उनी बताउँछिन् । 


‘बोल्दा के हुन्छ र भनेर बोल्न छाड्ने होइन,’ जनताको बोली बोल्ने आफ्नो कर्तव्य भएको बताउँदै उनी भन्छिन्, ‘हामी प्रदेश सरकारले सुन्ने ठाउँमा छौं, जनताले र पार्टीले आफ्नो आवाज बोलिदिनकै लागि हामीलाई त्यहाँ पुर्याएका हुन् ।’


उनले संसदमा भाषादेखि पर्यटन, कानुन निर्माणदेखि स्थानीय सरकारका गतिविधिहरुसम्म आवाज उठाएकी थिन् ।


सांसद श्रेष्ठले सरकारी कामकाजको भाषाको कार्यान्वयन गर्नुपर्ने, इटहरीमा फस्टाउँदो सडक व्यापारलाई ऐनमार्फत् व्यवस्थापन र प्रबद्र्धन गर्नुपर्ने, इटहरीको टेंग्रा खोला सफा गर्ने निहुँमा भत्केका संरचनाले डुबानको जोखिम बढाएकोमा प्रदेश सरकारले ध्यान दिनुपर्ने लगायतका माग उठाएकी थिइन् ।


यस्तै बहुविवाह गर्न पाइने कानुन संघीय सरकारले ल्याउन लागिएको चर्चाका बिच उनले बहुविवाहविरुद्ध अझ कडा कानुन बनाउन पहल गर्नुपर्ने बताएकी थिइन् । यस्तै बराहक्षेत्र मन्दिर कटानमा परेको भन्दै ध्यानाकर्षण गराएकी थिइन् । 


यसैगरी पुर्वी नेपालमा रहेका हिमालहरु चढ्नको लागि केन्द्रबाटै अनुमति लिनुपर्ने बाध्यता हटाउनुपर्ने धारणा राखेकी थिइन् । यस्तै उनले प्रदेशका एअरपोर्टहरुबाट फ्लाइट गर्नुपर्ने, पर्यटन प्रहरी बनाउनुपर्ने माग राखेकी थिइन् ।


उनले आगामी दिनमा पनि संसदमा आवाज उठाइरहने बताएकी छिन् ।