सिन्धुली । सिन्धुलीको घ्याङलेख–२ स्थित नेपाल एसबिआई बैंकको शाखाबाट मंगलबार साँझ डकैती भएको छ ।
डकैती समूहले पेस्तोल देखाएर बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर सेफ खोल्न लगाएका थिए। उनीहरुले तीन करोड ११ लाख रुपैया लुटेको बताइएको छ । लुटपाटको क्रममा बैंकका सुरक्षा गार्डको हात काटिएको थियो भने कर्मचारीहरुको आँखामा पट्टी लगाइएको थियो ।
डकैतीमा १२ जनाको संलग्नता रहेको बताइएको छ । समूहले लुटेको रकममध्ये एउटा पैसाको पोको जंगलमा छोडेर भागेको थियो । पोकोमा एक करोड ८० लाख १० हजार रुपैयाँ थियो ।
प्रहरीका अनुसरा लुटेरा समूह मंगलबार बिहान करिब १० बजे बनेपाबाट बोलेरो गाडी भाडामा लिएर घटनास्थलमा पुगेको थियो । तर पैसा लुटेपछि उनीहरू गाडीमा फर्कन नसकेर जंगलतर्फ भागेका थिए ।
प्रहरीले घटनामा पेशेवर समूहको संलग्नता रहेको पुष्टि गरेको छ। प्रहरीले गाडी र गाडीका ड्राइभरलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका गाडी चालकले लुटेराहरुले आफुलाई विवाहका लागि जन्ती जाने भन्दै गाडी बुक गरेका थिए । गाडीमा रहेको एक बोरा पैसासमेत प्रहरीले बरामद गरिसकेको छ । खोजी जारी रहेको प्रहरीले जनाएको छ ।