मोरङ । पाँच दलीय गठबन्धनको समर्थनमा नियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभामा विश्वासको मत लिन सचिवालयलाई आइतबार सूचना दिएका छन् । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका राईले कात्तिक ३० गते बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेशसभा नियमावलीको नियम १२८ (१) को व्यवस्थाअनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन प्रस्ताव पेस गर्ने सूचना सचिवालयलाई दिनुपर्ने उल्लेख छ । नियम १२८ (२) मा उपनियम (१) बमोजिम दिइने सूचना प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिनअगावै दिनुपर्ने भनिएको छ ।
प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोखरेलले मुख्यमन्त्री राईले विश्वासको मतका लागि सूचना दर्ता गराएको बताए । सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ३० गते मंगलबार दिउँसो १२ः३० मा प्रदेशसभा बैठक बोलाएका छन् ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १र१ जना प्रदेश सांसद छन् । एमालेका ४१ मध्ये एक जना प्रदेश सांसद गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेपछि फरार छन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनको ५० जना सांसद रहेकोले मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न कठिन नहुने देखिन्छ ।
कांग्रेस नेता राजीव कोइरालाले गठबन्धन दलका सबै प्रदेश सांसदले विश्वासको मत दिएर प्रदेश सरकारको कामलाई तीव्रता दिइने बताए । मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न समस्या नभएकोले प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दल राप्रपालाई पनि विश्वासको मत दिएर सहमतिमा अघि बढ्न आग्रह गर्ने उनले बताए ।
एमालेका प्रदेशसभा सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले एमालेले मुख्यमन्त्री राईलाई विश्वासको मत नदिई विपक्षमा बस्ने बताए ।