भाइ मसलाको व्यापारमा ब्रह्मलुट

न्युजलय १८ कार्तिक २०७८, बिहिबार ०३:०१ मा प्रकाशित

काठमाडौं । तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सगुनका रुपमा दिइने भाइ मसलामा ब्रह्मलुट हुने गरेको तथ्य फेला परेको छ । फुटपाथदेखि ठूला नाम चलेका स्टोर तथा सुपरमार्केटसम्ममा पाइने भाइ मसला बढी मूल्यमा कारोबार भइरहेको भेटिएको हो ।

फुटपाथमा सस्तोमा एक सय रुपैयाँ देखि माथि पाँचदेखि सात सयसम्म मूल्य पर्ने भाइ मसलाका प्याकेटहरु पाइन्छ । यसैगरी ठुला स्टोरहरु बिगमार्ट, सेल्सबेरी, भाटभटेनी लगायतमा तीन सयदेखि माथि आठ दश हजारसम्म मूल्य लिएर प्याकिङ बेच्ने गरिएको छ । यो मूल्य खरीद मूल्यभन्दा निकै गुणा बढी रहेको बताइएको छ ।

ति प्याकेटहरुमा काजु, किसमिस, बदाम, ओखर, पेस्ता, छोकडा, मखना, खुपार्नी, नरिवल, मिस्री, ल्वाङ, सुकमेल, दालचिनी, सुपारी, चकलेट तथा मिठाइहरु राखिएको पाइन्छ । नेपालमा चीन, भारत, अमेरिका, भियतनाम, यूएई, कतार, थाइल्यान्ड लगायतका करिब एक दर्जन मुलुकबाट भाइ मसलामा प्रयोग हुने ती सामग्री आउने गरेका छन्। भन्सार विभागको तथ्यांकअनुसार करिब एक अर्ब रुपैयाँका तिहारसहितका चाडबाडमा प्रयोग हुने मसला आयात भएको छ ।