काठमाडौं । विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटतर्फ आज भएको खेलमा ब्राजिललाई हराउँदै अर्जेन्टिना विजयी भएको छ।
ब्राजिलकै माराकाना रंगशालामा भएको खेलमा १–० गोल अन्तरले अर्जेन्टिनाले जित हात पारेको हो। अर्जेन्टिनाको जितमा निकोलस ओटामेन्डीले हेडरमार्फत ६३औं मिनेटमा गोल गरे।
अन्तर्राष्ट्रिय फूटबलका परस्पर प्रतिद्वन्द्वी यी दुई टोलीबीचको आजको खेल तनावपूर्ण थियो। अर्जेन्टिनाका रोड्रिगो डी पललाई फल गरेबापत ब्राजिलका खेलाडी जोलिङटनले ८१औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरएका थिए। यसपछि १० खेलाडीमा सीमित भएको ब्राजिलले केही अवसर पाए पनि गोल फर्काउन सकेन।
जितसँगै दक्षिण अमेरिकी छनोट अन्तर्गत ६ खेलमा पाँच जित सहित अर्जेन्टिना शीर्ष स्थानमा छ। त्यति नै खेल खेलेको उरुग्वे चार जित, एक हार र एक बराबरी सहित दोस्रो स्थानमा छ।
ब्राजिल भने ६ खेलमा दुई जित, तीन हार र एक बराबरी सहित छैटौं स्थानमा छ।